गजलको सौर्न्दर्यले मलाई तान्छ र तानिरहन्छ : संगीता थापा

संगीता थापा गजल लेखन, वाचन र अभिनयमा सक्रिय तथा निपुण छिन् । कला र साहित्यवाट पाठक, श्रोता र दर्शकको मन जित्न सफल थापासंग अर्का कवि, गायक तथा पत्रकार गौतम सागर राईले छोटो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानी :

संगीताजी, तपाइसंग छोटो कुराकानी गर्न पाउंदा खुसी लागेको छ, स्वागत छ ।

अवसरका लागि धन्यबाद गौतमजी ।

गजल लेखन र वाचनले पाठक र दर्शकलाई तानिरहनु हुन्छ ? मानिसलाई आफुतिर तान्ने कस्तो कला चाहिंदो रहेछ ?

म ठ्याक्कै यस्तो कला चाहिने रहेछ भनेर भन्न त सक्दिन । यहां सयौं, हजारौंले गजल लेखिरहनु भएको छ, गजल गाइरहनु भएको छ । मलाइ त मैले पनि उहांहरुले जस्तै लेखिरहेकी छु, वाचन गरिरहेकी छु भन्ने लाग्छ । मेरो लेखनलाइ र मेरो वाचनलाई मन पराइदिइरहनु भएकोछ, माया गरिदिइरहनु भएकोछ । यो एउटा संयोग होला भन्ने लागेको छ ।

लेखनको हिसाबले सबै बिधामा कलम चलाउनु हुन्छ तर गजल बिधामा नै बढी सकृय देखिनु हुन्छ । गजलप्रतिको विशेष लगाव किन ?

गजलमा थोरै शब्दमा धेरै कुरा भन्न सकिन्छ । सक्नु पर्छ । धेरै बिषय उठाउन सकिन्छ । यही नै गजलको अप्ठ्यारो पाटो पनि हो र गजलको सौन्दर्य पनि हो । गजलको सौर्न्दर्यले मलाइ तान्छ र तानिरहन्छ ।

अनलाइन र पत्रपत्रिकामा तपाइका धेरै रचनाहरु पढ्न पाइन्छ ? पुस्तकका रुपमा कहिले पढ्न पाइएला ?

गजल संग्रहको तयारी गरिरहेकी थिए । लगभग ३ सयवटा गजल पुगेका थिए । दुर्भाग्य ती सवै गजल मोबाइलबाट डिलिट भए । कुरा तत्कालको त होइन, तीन चार वर्ष अगाडिको हो । यसै पनि कम गजल लेख्ने मान्छे, त्यति गजल डिलिट भएपछि त फेरी संख्या पुर्याउन समय लाग्छ । २० वटा गजल महफिल मा संग्रहित भएर आएकोछ । हेरौ अर्को साल संग्रहको रुपमा निकाल्न सकिन्छ कि ।

तपाईं बहुप्रतिभाशाली सर्जक हुनुहुन्छ । लेख्नु हुन्छ, गाउनु हुन्छ र अभिनय पनि गर्नुहुन्छ । यी अलग अलग विधालाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

यी तीनै बिधा आफैमा सुन्दर छन । सुन्दर बिधाहरुमा आफूलाई सकृय बनाउन पाउनु भनेको अझ सुन्दर कुरा हो । अभिनय, गायन र लेखन मेरो कर्म पनि हो, भाग्य पनि हो । म यी तीन विधालाइ मेरो जिन्दगी हो भनेर बुझ्छु ।

प्रतिक्रिया दिनुहोस्