कविता : तिम्रो चुनरी फेरी सल्वलाउंदा

शायद तिमीलाई थाहा नहुन सक्छ,
तिमीले ऊही पुरानो रेशमी चुनरी ओढेर आउँदा
सूर्य डुब्ने बेलाको सिर्सिरे बतासमा
तिम्रो चुनरी फेरी सल्वलाउंदा
मेरो ऊही प्रेमिल मनको बगैंचामा
पुराना याद फूल्न लागेको छ !

शायद तिमीलाई याद छैन,
हाम्रो पहिलो भेटमा
तिमीले ओढेर आएको त्यही फूलबुट्टे चुनरी
बगैंचाका हरेक कुनामा डुल्दा
तिमी तिनै फूलहरुमा बिलिन भएकी थियौ!
हावाका झोंक्कामा कोमल फूलहरु जस्तै,
तिम्रो केश र चुनरी पनि उतै झुल्थे!
त्यो बगैंचामा नगएको बर्षौं भयो,
तर तिमी नै मेरो जीवनको बाग बनेर आयौ!

शायद तिमीलाई होश छैन,
त्यहि चुनरीले पटक पटक
तिम्रो उभारिएको यौवनलाई
छोप्ने प्रयाश गर्दा, तिमी झन् खुलेकी थियौ!
यौवनका पहाडहरुबीच
हल्का फैलिएको बादल जस्तो पो देखिन्थ्यो तिम्रो पारदर्शी चुनरी!

शायद तिमीलाई सम्झना हुनसक्छ,
हाम्रो प्रथम भेटमा
पूर्ण चन्द्रको साँझमा
हामीले समर्पित भएर
शब्द बिहिन भएपछि
नयनका भाकामा बोलेका बेला
हावाले उडाएको चुनरीको सप्कोले
मेरो मुख छोपिदिएको थियो!
तिमीलाई एउटा मिठो सरप्राइजु दिन नपाएपनि
चुनरीको सप्कोले दिएको खुश्बूले
यो जीवनमा महक छाएको छ!

शायद तिमीलाई थाहै छैन,
तिमी मलाई छाडेर कतै टाढा गएको बेला,
यादले एक्लै सुत्न नसकेको बेला
यहि चुनरी ओढेर कति रात काटेको छु!
तिम्रो प्रेममा भाबुक भएर बररर आशु खसेको बेला,
यहि चुनरीले आँखा पुछेको छु!

हिजो फेरी त्यहि पुरानो चुनरी ओढेर तिमी आउदा,
हावाको झोक्कामा फेरी उसैगरी चुनरी सल्बलाउदा
मेरो मन पनि फेरी सल्बलाएको छ
चुनरीले प्रेम अझै गाढा बनाएको छ!
शायद तिमीलाई थाहा नहुन सक्छ!

क्याम्ब्रिज,म्यास्साचुसेट्स
अप्रिल ५, २०२१

प्रतिक्रिया दिनुहोस्