आस्ट्राजेनेका खोपको प्रयोग जारी राख्न डब्ल्यूएचओको आग्रह

कयौँ मुख्य युरोपेली देशहरूले अक्सफर्ड आस्ट्राजेनेका खोपले रगत जम्ने समस्या आएको भन्दै वितरणमा अस्थायी रोक लगाइरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आष्ट्राजेनेका खोपको प्रयोगलाई कायम राख्न आग्रह गरेको छ ।

विश्व स्वास्थ संगठनले सो खोप र रगत जम्ने अवस्थावीचमा कुनै पनि सम्वन्ध रहेको नपाइएको दावी गरेको छ ।

सो खोप लगाएपछि स्वस्थ मानिसमा समेत रगत जम्ने समस्या देखिएको भन्दै केही साना देशहरुले खोप स्थगित गरेपछि जर्मनी, फ्रान्स, इटाली र स्पेनले पनि सोही कदमलाई साथ दिएका छन् ।

आस्ट्राजेनेका सामु आएका रगत जमेको गुनासोहरु ४० भन्दा कम रहेका छन् तर पनि ठुला देशहरु स्वास्थ संवेदनशीलतामा गम्भीर हंदै खोपलाई स्थगित गरेका छन् ।

जर्मनीको स्वास्थ्य मन्त्रालयले सोमवार तत्काल लागु हुनेगरी अक्सफर्ड आस्ट्राजेनेका खोपको वितरण रोक्ने जनाएको थियो। लगत्तै फ्रेन्च राष्ट्रपति एमानुअल मांक्रोले समेत फ्रान्समा उक्त औषधिमा रोक लगाएका थिए ।

इटलीले रोकको अवधि बढाएको छ भने स्पेनले दुइ साताका लागि सो औषधिमा रोक लगाएको छ ।

नेदरल्याण्ड्स, आइरिस रिपब्लिक, पोर्चुगल, डेनमार्क, नर्वे, बुल्गरिया, आइसल्याण्ड र स्लोभेनियाले खोप दिने कामलाई अस्थायी रूपमा रोकेका छन्।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो र इन्डोनेशियाले खोप कार्यक्रम पर सारेका छन् भने बेल्जियम, पोल्याण्ड, द चेक रिपब्लिक र युक्रेनले भने आफूहरूले खोपको प्रयोग जारी राख्ने बताएका छन्।

थाइल्याण्डले केही ढिलो गरी मङ्गलवारबाट उक्त खोप दिन सुरु गर्दैछ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा प्रयोग भएका आस्ट्राजेनेका सहितका खोपहरू सुरक्षित रहेको भन्नेमा स्वास्थ्य विज्ञहरूले आफूलाई आश्वस्त पारेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्