एनआरएनएद्वारा नेपाली पेशाकर्मीहरुको डाटावेस तयार

लुइभेल, केन्टकी । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले अमेरिकामा वसोवास गरिरहेका नेपाली पेशाकर्मीहरुको डाटावेस तयार गर्ने संरचना तयार गरेको छ । अमेरिकामा वसोवास गर्ने नेपाली पेशाकर्मीहरुले एनआरएनएको वेवसाइटमा गएर डाटावेशमा आफुलाई प्रवेश गराउन सक्ने भएका छन् ।

एनआरएनएको साइन्स, टेक्नोलोजी एण्ड इन्नोभेसन कमिटी प्रमुख तारा सिग्देलको पहलमा पुरा भएको डाटावेसको वारेमा आज एक कार्यक्रमको वीचमा जानकारी दिइयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनएका अध्यक्ष सुनिल साहले विगतमा डाटावेस नहुंदा धेरै हैरानी वेहोर्नु परेको स्मरण गर्दै यो डाटावेस तयार गर्न २० महिना लागेको जानकारी दिए ।

डाटावेस नहुंदा कुन क्षेत्रमा को विज्ञ छ भन्ने विषयमा ज्ञान नभएकोले एनआरएनले निकै कठिनाइ भोगेको वताउंदै अध्यक्ष साहले अव यो डाटावेसले सहज वनाएको र यसले विज्ञहरुलाई एनआरएनसंग जोड्ने काम गरेको वताए ।

अमेरिकामा रहेका नेपाली पेशाकर्मीहरुको डाटावेस तयार गर्ने अवधारणा वर्तमान महासचिव पशुपति पाण्डेले एनआरएनएको साइन्स, टेक्नोलोजी एण्ड इन्नोभेसन कमिटी प्रमुख हुंदा तयार गरेको स्मरण गर्दै अध्यक्ष साहले यसका लागि महासचिव पाण्डेलाई धन्यवाद दिए ।

महासचिव पाण्डेले टेक्सास अधिवेशनको समयमा यो विषय उठेको र पछि आफु नै साइन्स, टेक्नोलोजी एण्ड इन्नोभेसन कमिटी प्रमुख भएर आएपछि सञ्चालित केही प्रोजेक्टहरु अन्तर्गत यो पनि समावेश गरेको जानकारी दिए ।

धेरै प्रोफेसनल व्यक्तिहरु एनआरएनसंग जोडिएका छैनन् भन्ने भनाइलाई चिर्नका लागि पनि यो डाटावेस सुरु गरिएको थियो, पाण्डेले भने, यसले एनआरएनलाई मात्रै नभएर नेपाल सरकारलाई पनि सहयोग पुग्ने वताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए आइसीसीको साइन्स, टेक्नोलोजी एण्ड इन्नोभेसन कमिटीका उपाध्यक्ष राजेन्द्र पंगेनीले डाटावेसले नयां व्यवसाय सुरु गर्न परामर्श लिन सहयोग पुग्ने वताए ।

एनआरएनएको साइन्स, टेक्नोलोजी एण्ड इन्नोभेसन कमिटीका उपाध्यक्ष ददि ढुंगानाले एनआरएनका सदस्यहरु नभएकाले पनि यसमा आफुलाई प्रवेश गराउने सक्ने जानकारी दिए । उनले आफुलाई एनआरएनए डाटावेसमा प्रवेश गराएपछि आफ्नो क्षेत्रको अर्को व्यक्तिसंग सोझै सम्पर्क गर्न सक्ने सुविधा उपलव्ध भएको पनि जानकारी दिए ।

यो डाटावेस एनआरएनएको पूर्ण नियन्त्रणमा रहेकाले सुररिक्षत रहेको पनि ढुंगानाले जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)का अध्यक्ष गुणराज लुइटेल, पत्रकार नारायण श्रेष्ठ, नेपाल अमेरिका पत्रकार संघ (नेजा)का पूर्वअध्यक्ष भोला आचार्य, र एनआएनएका मेडिया कोअर्डिनेटर तथा नेपालिज डायस्पोराका सम्पादक सतिष चापागाईले एनआरएनएले डाटावेसको सुरक्षाको लागि सावधानी अपनाउनुपर्ने सुझाव दिएका थिए ।

पत्रकारहरुका प्रश्नहरुलाई सम्वोधन गर्दै एनआरएनए आइसीसीका महासचिव पशुपति पाण्डेले डाटावेशमा पेशाकर्मीहरुका धेरै व्यक्तिगत सुचनाहरु नराखिने जानकारी दिंदै डाटावेशमा सम्पूर्ण रुपमा एनआरएनएको पूर्ण निगरानीमा हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्