मेक्सिकोले ‘गांजा विधेयक’ पारित गरेपछि गांजासम्वन्धी सेयरमा वृद्धि हुने अपेक्षा

गांजाका उत्पादनहरु विक्री गर्ने कम्पनीहरुको शेयर मुल्य पछिल्लो समयमा घट्दै गइरहेको भएपनि ल्याटिन अमेरिकी मुलुक मेक्सिकोको तल्लो सदनले गाँजाको प्रयोगसम्बन्धी एउटा विधेयक पारित गरिदिएपछि शेयरवजारमा वृद्धि आउने अपेक्षा कम्पनीहरुले गरेका छन् ।

क्यानाडाले यसअघि नै गांजाका उत्पादनहरुलाई मनोरञ्जनसंगै वैज्ञानिक प्रयोगमा ल्याउन अनुमति दिइसकेको छ भने मेक्सिकोको यो अभियानले पनि गांजा उत्पादक तथा कम्पनीहरुलाई खुसी तुल्याएको छ । हाउस अफ कंग्रेसले बुधबार पारित गरेको विधेयकअनुसार अब मेक्सिकोमा गाँजाको प्रयोगलाई अपराध मानिने छैन।

मनोरञ्जनसँगै मेडिकल तथा वैज्ञानिक प्रयोगमा गाँजालाई खुला गरेपछि मेक्सिको गांजाको लागि ठुलो वजार वन्ने संभावना देखिएको छ । मेक्सिकोमा मात्र होइन, अहिले संसारभर नै गांजालाई मनोरञ्जन र मेडिकल क्षेत्रमा अनुमति दिनुपर्ने माग वढ्दै गएको छ ।

राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओर्बाडोरको प्रशासनले ल्याएको उक्त विधेयकलाई तल्लो सदनमा अनुमोदनका लागि प्रस्तुत गर्दा पक्षमा ३१६ मत र विपक्षमा १२७ मत परेको थियो । अव यो विधेयकलाई सिनेटले पारित गरेपछि कानुनको रुप लिने छ ।

विधेयकले गाँजाको खेती, त्यसबाट गाँजा बनाउने, बेच्ने, अनुसन्धान गर्ने र आयात निर्यात गर्ने गरी गाँजाका पाँच प्रकारका लाइसेन्स दिने व्यवस्था गरेको छ जसअनुरुप १८ वर्ष माथिका मानिसरूले मात्र गाँजाको प्रयोगसम्बन्धी यस्तो लाइसेन्स पाउनेछन्।

सन् २०१३ मा अर्को दक्षिण अमेरिकी मुलुक उरूग्वेले गाँजाको उत्पादन र वितरणलाई कानुनी हैसियत दिएको थियो भने अर्जेन्टिना, चिली, कोलम्बिया र पेरूले गाँजाको मेडिकल प्रयोगका लागि अनुमति दिएका छन्।

प्रतिक्रिया दिनुहोस्