अलविदा डियर फ्रेन्ड

 

म भन्दा ऊ ४३ वर्ष कान्छो थियो । पछिल्लो वीस महिनाको सवैभन्दा प्रिय साथी । वाकिङमा जांदा सधै अगाडि लाग्थ्यो । ड्राइभिङमा सधै अघिल्लो सिटमा उसको दावी हुन्थ्यो । म पढ्न लेख्न वस्दा काउचमा संगै वस्थ्यो । वारीमा काम गर्न सदैव संगै हुन्थ्यो । वारीमा लोखर्केहरुलाई लखेट्थ्यो । छोराछोरीसंग दौडिन प्रतिश्पर्धा गथ्र्यो र सधै जित्थ्यो । निदाउंदा सदैव मेरो गोडा मुनि हुन्थ्यो ।

सेप्टेम्वर २, २०१८ मा जन्मिएको दुइ महिनाको नहुंदै अक्टोवर २८ मा हाम्रो परिवारको सदस्य भएको थियो । ऊसको अफिसियल नाम सेवल भएपनि घरमा सवैको प्रिय ‘शिवु’ थियो । योर्की वावु र माल्टिज आमाको ठेक्पा । व्रिड मोर्की । सेवल आधिकारिक रुपमा छोरा हृदयको पेट थियो, उसको आग्रहमा हामीले उसलाई परिवारको सदस्यको रुपमा अपनाएका हौं । तर जनावरहरु जसले वढी ख्याल गर्छ, उसकै नजिक हुने गर्छ । यस्तै भइदियो । उसलाई हुर्काउंदै जांदा सेवल हृदयभन्दा पनि मसंग वढी नजिक भयो । सेवल हाम्रो घरमा मात्रै होइन, हाम्रो टोलमा नै प्रिय भएको थियो । वालवालिकाको निम्ति त सवैभन्दा वढी साथी थियो । पेन्सिलभेनियावाट लक्ष्मी मामा यसै सातामात्रै छोरा इशानको शिवु भेट्ने जिद्धी पुरा गर्न ९० वर्षीय हजुरवुवालाई समेत साथमै लिएर आउनु भएको थियो । हजुरवुवा घरमा आइपुग्नासाथ शिवु हजुरवुवाको काखमा घुस्रिएको थियो ।

सेवल संगसंगै रहंदा म उसको संकेत वुझ्ने भए । ऊ मेरो भाषा वुझ्ने भयो । घरमा सेवलको संकेत सवैभन्दा वढी वुझ्नेमा म नै भए । जव जव उसलाई वाहिर जान मन लाग्थ्यो, मेरो छेऊमा वस्थ्यो र उसको थुतुनोले मेरो हातमा उधिन्न थाल्थ्यो । वारीवाट जव घर फर्कन मन लाग्थ्यो, गेटमा गएर पर्खिथ्यो । जीऊ चिलायो भने काखमा घुस्रन्थ्यो र थुतुनाले मेरो छातीमा चलाउंथ्यो । उसले मलाइ यस्ता सयौं संकेतहरु सिकायो, जसले उसलाई मैले सहज वुझ्थे । उसलाई सवैभन्दा प्रिय ड्राइभिङ र वाकिङ थिए ।

जव सेवल घरमा आयो, मेरो सार्वजनिक जीवनमा नै परिवर्तन आयो । उसको खाने समय, दिसा पिसाव गराउने समय, वाकिङ जाने समयको वारेमा मैले ख्याल गर्थे । ती समयमा म घरमा आइपुग्थे । ऊ केजमा वस्न मन पराउंदैनथ्यो । उसलाई कहिले पनि थुन्न मलाइ मन लागेन । मेरो जीवन विस्तारै ऊप्रति केन्द्रित हुंदै गयो । ऊ मप्रति आश्रित हुंदै गयो । छोराछोरी जत्तिकै दायित्व सेवलप्रति भयो ।

मेरो दैनिक जीवन ऊप्रति वढी केन्द्रित भएको वारेमा छोरा हृदयलाई पनि जानकारी थियो । मैले एकदिन उसलाई सोधे, वावु सेवलको कारण मैले घरवाहिर धेरै समय रहन पाएको छैन, कुनै राम्रो परिवारले यसलाई एडप्ट गरे भने दिऊ ?

सेवलको कारण तपाइले वाहिर लामो समय विताउन पाउनु भएको छैन, त्यसैले म आफ्ना स्क्याजुलहरु विगारेर सेवलसंग समय विताउनु त भन्न सक्दिन, छोरोले भनेको थियो, पक्कै पनि हामी सवैले शिवुलाई मिश गर्छौ, तर हामीले भन्दा वढी शिवुले हामीलाई मिश गर्नेछ, हामीसंग त परिवार छ, उसको त परिवार हामीमात्रै हौं, सेवलले धेरै मिश गर्ला भनेर पीर लाग्छ ।

छोराको कुरा सुनेपछि हामीले सेवललाई कसैलाई दिन सकेनौ । ऊसले हाम्रो परिवार छाडेर अरु परिवारमा त जानु परेन, तर यति टाढा गइदियो, अहिले हामी सवै परिवार मिश गरिरहेका छौं ।

केही दिन अघि । सेवल दिनभर मसंग नै वस्यो । वारीमा मसंगै गयो । केही वेर खेल्यो । सधै भन्दा अलि चांडै घर आउन मन गर्यो । घर लिएर आए । छोराछोरीहरु साइक्लिङ गर्न तयार भएर वसेका रहेछन् । सांझ भइसक्यो, साइक्लिङ नजाऊ वाकिङ जाऊ भने । म छोराछोरी लिएर वाकिंङमा गएको पांच मिनट पनि भएको थिएन, मेरो छिमेकी अनुप वस्नेतको कल आयो, दाइ सेवललाई गाडीले हान्यो ।

हतार हतार घर आए । ऊ छोरी धरतीको काखमा थियो । खुट्टा टेकिरहेको थिएन । एउटा आंखामा व्लड क्लट भएको देखियो । श्वास प्रश्वासमा समस्या थियो । मलाइ देखेर वरर आंशु झार्यो ।

म वाकिङमा जांदा ऊ घर पछाडि ममीसंग डेकमा खेलिरहेको थियो । घरमा नै वस्ला भनेर वास्ता गरिन । घर भित्र आएपछि मलाइ देखेनछ । कुकुर न हो गन्ध पाइहाल्छ । ढोका खुलेको मौका पारेर निस्किएछ । ऊ यसरी कहिलेकांही निस्किन्थ्यो । हाम्रो परिवारका तीन घरमा एक्लै जान्थ्यो, ढोका ढक्ढक्याउंथ्यो र वस्थ्यो । मन लागेपछि फर्कन्थ्यो । उसलाई हाम्रो टोलको वारेमा राम्रो ज्ञान थियो । कसैलाई झम्टिदैनथ्यो । आवास क्षेत्र भएकोले सवारीहरु तीव्र गतिमा हुंदैनथे, त्यसैले उसलाई अहिलेसम्म खतरा भएको थिएन ।

यो दुर्भाग्य नै भयो । सेवललाई गाडीले हिर्काउने पनि नेपाली युवा नै थिए । आवासीय क्षेत्रमा निर्धारित गतिमा गाडी चलाइ दिएको भए यो दुर्घटना हुने थिएन तर योंग व्लडवाट यस्ता अपेक्षा गर्नु निकै गाह्रो कुरा हो । मैले प्रहरी केस गर्न चाहिन । आफ्नै कम्युनिटीका मेम्वर विरुद्ध किन कानुनी कारवाहीमा जानु र ?

सेवललाई लिएर हस्पिटल जानु मेरो पहिला दायित्व थियो । म जसरी पनि सेवललाई वचाउन चाहन्थे । राती भइसकेको थियो । अधिकांस पशु अस्पतालहरु वन्द थिए । करिव ३५ मिनेट टाढाको मिडल टाउनको अस्पतालमा पुर्याए । कोरोना संक्रमणको कारण म र छोरीहरु गाडीमा नै वस्यौं । इमर्जेन्सीकी नर्स आएर सेवललाई भित्र लगिन । डायग्नोसिस र प्रारम्भिक उपचारका लागि नै ९८८ डलरको विल इमेलमा आयो र त्यसपछि उपचारमा कति लाग्न सक्छ भन्ने यकिन पनि थिएन । सेवलको स्पाइनल कर्डमा चोट पुगेको थियो, खुट्टा भांचिएको थियो, टाउकोमा रगत जमेको थियो ।

डाक्टर, सेवल वांच्न सक्छ ? मेरो एउटै प्रश्न थियो ।

निश्चित छैन, डाक्टरले अंग्रेजीमा भनेकी थिइ, वांच्यो भने पनि ऊ जीन्दगीभरी हिंड्न सक्दैन र दिशा पिसाव आफ्नो चेतनाले गर्न सक्दैन । उसको दिमागमा धेरै चोट परेको हुनाले दिमागले काम गर्न सक्छ सक्दैन भन्न सकिंदैन । ट्रिटमेन्ट गर्ने भए यो प्लान ए हो नत्र प्लान वीमा जाऊ ।

हिंड्न नसके पनि ऊ हाम्रो परिवारको सदस्य भएर वांच्न सक्थ्यो, तर त्यो दिमागी हालत र दिशा पिसाव गर्न नसक्ने अवस्थामा के होला ? मैले कल्पना पनि गर्न सकिन । त्यस्तो सक्रिय सेवल कसरी काउचमा लम्पसार भएर जीन्दगी विताउला ?

प्लान वी के हो डाक्टर ? मैले सोधे ।

हामी एउटा सुइ लगाएर उसलाई मुक्ति दिन सक्छौं, उसको सहज जवाफ थियो ।

उसलाई वढी पीडा नहोस् डाक्टर, सुइ लगाइदिनुहोस्, मैले मुटुमाथि ढंगा राखेर वोले ।

कारमा संगै रहेका छोरीहरु धरती र ममता कहालिएर रोए । मेरो गला अवरुद्ध भएको थियो ।

तिमीहरु सेवललाई अन्तिममा एकपटक भेट्न चाहन्छौ ?

अं हं, म सक्दिन, मेरो छोटो जवाफ थियो ।

छोरीहरु धरती र ममता सेवललाई गुडवाइ भन्न चाहन्थे । मैले सकिन ।

ममताले रुंदारुंदै कारमा नै भमिट गरिसकेकी थिइन ।

टेलिफोनमा डाक्टरले छोरीहरुको रुवाइ सुनिरहेकी थिइन ।

तिमीहरु सेवलको अन्त्येष्टिमा सहभागी हुन चाहन्छौ ?

अं हं, मैले फेरी पनि कठोर भएर भने ।

छोरीहरु जसरी पनि सेवललाई एकपटक भेट्न चाहिररहेका थिए तर मलाई मैले आफुलाई नियन्त्रण गर्न सक्छु जस्तो लागेको थिएन ।

सेवलको खरानी चाहन्छौं ?, डाक्टरको अन्तिम प्रश्न थियो ।

अंहं, मैले फेरी नकारात्मक जवाफ दिए ।

मैले सेवलको अन्त्येष्टिको लागि अरु १८० डलर तिरेर अस्पतालवाट वाहिरिए । घर फर्कदै गर्दा ममीले सेवलको वारेमा सोध्नुभयो । घर आएर वताउंला भनेर फोन काटे । घर फर्किएर पछि मैले सुनाउन सकिन । छोरी धरतीले सुनाइन । म चुपचाप कोठामा पसे । छोरा रोएको धेरैवेर सम्म सुने । नरोऊ भन्न सक्ने अवस्थामा म पनि थिइन । छोरा धेरैवेर पछि आफैं सम्हालिएर ओछेनमा आयो । हाम्रो गोडामुनि आज सेवल आउंछ कि जस्तो लागिरह्यो तर आएन । श्रीमती घरमा थिइनन् । उनी रात्री सिफ्टमा काम भएकोले अस्पतालमा थिइन । भोलीपल्ट विहानै उठेर अस्पतालमा उपचार गराइरहनु भएकी आन्टीलाई कुरिरहनु भएका उद्धव अंकललाई पालो दिन ड्राइभ गरे । अघिल्लो सिटमा वस्न सेवल आएन ।

ड्राइभ गरिरहंदा श्रीमतीलाई कल गरे । फोन उठाइन ।

वावा, आजदेखि सेवल तिमीलाई ढोकामा स्वागत गर्न आउने छैन

यसभन्दा वढी वोल्न सकिन । मैले डाको छाडे ।

अलविदा डियर फ्रेन्ड ।

 

प्रतिक्रिया दिनुहोस्